• २०८१ बैशाख ७ शुक्रबार

ब्रह्माण्डमा भेटिए सयौँ नयाँ 'एक्सोप्लानेट', भेटिएला त अर्को ‘जीवनदात्री पृथ्वी’ ? 

kharibot

सन् १९९० को दशकमा पहिलोपटक एक्सोप्लानेट पत्ता लागेपछि ब्रह्माण्डमा अन्य थुप्रै हाम्रो सौर्यप्रणालीजस्तै तारा प्रणालीहरु पनि छन् भन्ने पुष्टि भएको छ । अझ वैज्ञानिकहरु त मिल्की वे एउटैभित्र लाखौँलाख यस्ता ताराप्रणालीहरु रहेको विश्वास गर्छन् ।

एक्सोप्लानेट भन्नाले पृथ्वीलगायत नौ ग्रहले घुम्ने सौर्यमण्डलदेखि बाहिर रहेको ग्रह भन्ने बुझिन्छ, जसले पृथ्वीले सूर्यको परिक्रमा गरेजस्तै उसले पनि आफ्नै ताराको परिक्रमा गर्ने गर्दछ ।

पृथ्वीका वैज्ञानिकहरु यतिखेर यो विशाल ब्रह्माण्डमा विभिन्न ग्रहप्रणाली र ग्रहहरुको खोजीमा लागिरहेका छन् । युरोपदेखि अमेरिकासम्मका खगोलविद्हरु ब्रह्माण्डमा अर्को पृथ्वी, अर्को जीवनअनुकूल ग्रह भएको विश्वासमा खोजीमा लागेका छन् । सोही क्रममा वैज्ञानिकहरु केपलर मिसनमार्फत यस्ता एक्सोप्लानेटको खोजीमा लागेका छन् । 

सोही क्रममा नयाँ अध्ययनबारे तथ्य बाहिर आएको छ । वैज्ञानिकहरुले २ सय ७५ वटा एक्सोप्लानेटको विश्लेषण गर्ने क्रममा १ सय ४९ वटा चाहिँ वास्तविक एक्सोप्लानेट रहेको र त्यसमध्ये पनि ९५ वटा यस्ता एक्सोप्लानेट नयाँ पत्ता लागेको प्रमाणित भएको दाबी गरेका छन् ।

डेनमार्कको टेक्निकल युनिभर्सिटीस्थित राष्ट्रिय अन्तरिक्ष संस्था (डीटीयू स्पेस) का विद्यावारिधि अमेरिकी विद्यार्थी एन्ड्र्यु मायोले सन् २०१४ मा पहिलोपटक केटुको डाटा प्रकाशित भएपछि यो अध्ययन जारी रहेको बताएका छन् । एष्ट्रोनोमिकल जर्नलमा यस अध्ययनका प्रमुख लेखक हुन् मायो । 

यो अध्ययन हार्वर्ड कलेजमा उच्च तहको परियोजनाको एक भागका रुपमा गरिएको थियो । यस अध्ययनमा नासा, कालटेक, यूसी बाक्र्ले, दि युनिभर्सिटी अफ कोपनहेगन र युनिभर्सिटी अफ टोक्यो समेतका टोली यसमा संलग्न रहेका छन् ।

केपलर स्पेसक्राफ्ट (अन्तरिक्षयान) सन् २००९ मा एक्सोप्लानेटको खोजीका लागि प्रक्षेपण गरिएको थियो । तर २०१३ मा टेलिस्कोपमा समस्या आएको थियो । यति हुँदाहुँदै पनि खगोलविद् र इन्जिनियरहरुले अन्तरिक्ष टेलिस्कोप जोगाएर मिसनलाई अगाडि बढाउन यसको आधारक्षेत्र आवधिक रुपमा परिवर्तन गर्न सफल भए । सोही कारण के२ मिसनलाई पछ्याउन सजिलो भयो । जुन अहिलेसम्म पनि खोजी कार्य जारी छ ।

उक्त के२ को ट्रान्जिट पत्ता लगाउने प्रयास अहिले पनि जारी रहेको उनीहरुको भनाइ छ । उक्त ट्रान्जिट एक्सोप्लानेटले परिक्रमा गर्ने ग्रहलाई पार गर्दा पर्ने छायाद्वारा निक्लिएको प्रकाशको गहिराइको आधारमा पत्ता लगाउन सकिने उनीहरुको भनाइ छ । 

एक्सोप्लानेटका भूभाग भर्खर भर्खर विकसित भएका हुनसक्छन् । पहिलोपटक पृथ्वीले सूर्य घुमेजस्तै सन् १९९५ मा यस्तो एक्सोप्लानेट पत्ता लागेकोमा आजसम्म करिब ३ हजार ६ सय एक्सोप्लानेटहरु ब्रह्माण्डमा रहेको पाइएका छन् । ती एक्सोप्लानेटहरु चट्टानी पृथ्वीकै आकारदेखि ठूला ग्यास ग्रहहरु (बृहस्पति)जस्तै ठूला रहेका छन् ।

कुन एक्सोप्लानेटहरुबाट कस्ता संकेतहरु आइरहेका हुन् भन्ने छुट्याउनु कठिन काम रहेको वैज्ञानिकहरुको भनाइ छ । मायो र उनका समकक्षीहरुले एक्सोप्लानेटबाट आएको मानिएका सयौँ संकेतहरुको विश्लेषण गरेका छन् । त्यसमा उनीहरुले एक्सोप्लानेटबाटै ती संकेत आएका हुन् या अन्य कुनै स्रोतबाट भनेर खोजी गरिरहेका छन् । 

मायोको टोलीले थुप्रै तारामण्डल प्रणाली वा अन्तरिक्षयानबाट आएका संकेतहरु पाएका छन् । उनीहरुले पृथ्वीकै आकारदेखि बृहस्पतिसम्मका आकार भएका ग्रहबाट आएका हुन् भन्ने पत्ता लगाएको दाबी गरेका छन् । त्यसमध्ये एउटा ग्रहले ठूलो चम्किलो तारालाई घुमिरहेको उनीहरुले पाए । 

मायोले भनेका छन्, ‘हामीले पत्ता लगाएकामा एउटा एचडी२१२६५७ नामको तारालाई १० दिन लगाएर घुमिरहेको एउटा ग्रह भएकोमा निश्चित्त भएका छौँ ।’ जसलाई कि केपलर कि त के२ मिसनअन्तर्गतको पत्ता लागेको चम्किलो तारा हुनसक्ने मानिएको छ । यस्तो अध्ययनमा ताराहरुको आधारसहितको अवलोकन महत्वपूर्ण हुने मायोको भनाइ छ ।

अन्तरिक्ष विज्ञानको अध्ययनकै रोचक भूमि हुन् एक्सोप्लानेटहरु । जति धेरै एक्सोप्लानेटहरु पत्ता लाग्छन्, त्यति धेरै खगोलविद्हरुले एक्सोप्लानेटको वातावरण, प्रकृतिबारे पत्ता लगाउन सक्छन् । जसले हाम्रो सौर्यप्रणालीलाई गालाक्टिक कन्टेक्स्टमा स्थान बनाउन मद्दत गर्छ । 

केप्लर स्पेस टेलिस्कोपले एक्सोप्लानेटसँग सम्बन्धित क्षेत्रमा महत्वपूर्ण योगदानहरु दिएको त छ नै, यसको मिसन र त्यसपछिको के२ मिसनमा समेत टेवा दिएको छ । अहिलेसम्म यी मिसनहरुले ५ हजार १ सय बढी सम्भावित एक्सोप्लानेटबारे जानकारी दिएको छ र ती सबै वैज्ञानिकको प्रयोगशालामा अध्ययन÷परीक्षणकै क्रममा रहेका छन् ।

अब आउने नयाँ अन्तरिक्ष मिसनहरु जेम्स वेब स्पेस टेलिस्कोप र ट्रान्जिटिंग एक्सोप्लानेट सर्वे स्याटेलाइटको माध्यमबाट खगोलविद्हरुले एक्सोप्लानेटको खोजीमा नयाँ पाइला चाल्नेछन् । उक्त फड्कोसँगै चट्टानी, वासस्थानयोग्य, पृथ्वीआकारका एक्सोप्लानेटहरु जुन जीवनअनुकूल छन्, त्यसको खोजीमा नयाँ आयाम थप्ने उनीहरुको भनाइ छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै