• २०८१ बैशाख ११ मंगलबार

किन बढ्दै छ विदेशी चिनीको उपभोग ?  व्यवसायी भन्छन् - सरकारले चासो दिएन

kharibot

काठमाडौं । आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित चिनीको मूल्यभन्दा सार्क राष्ट्रहरुबाट उत्पादित चिनीको मूल्य कम हुनाले आम नेपाली उपभोक्ताहरुले स्वदेशीभन्दा पनि विदेशी चिनी प्रयोग गर्दै आएका छन् ।  

चिनी उत्पादनको लागि आवश्यक कच्चा पदार्थ पर्याप्त मात्रामा उत्पादन भएता पनि दक्ष जनशक्ति, केमिकल्सलगायत आवश्यक उपकरणहरुको व्यवस्था नभएका कारण स्वदेशी उत्पादनभन्दा विदेशबाट आयात भएको चिनी सस्तो मूल्यमा खरिद गरी उपभोग बढी हुने गरेको हो ।

हुन त नेपाल कृषिप्रधान देश हो, यहाँका किसानहरु नगदेबालीको रुपमा वर्षेनी उखु खेती गर्दै आएका छन् । किसानहरुले वर्षेनी खेती गर्न खर्च समेत बढ्दै जाने तर वृद्धि भएको खर्चअनुसार मूल्य समेत नपाइनुको साथै उधारोमै उखु बिक्री गर्नुपर्ने भएकाले यसको खेती निरन्तर बढाउनुपर्नेभन्दा घटाउनेतर्फ लागिपरेको किसान मनोज गुप्ताले बताए । 

परम्परागत तथा अवैज्ञानिक तरिकाले गरिएको उखुखेतीलाई निरुत्साहित गर्दै सरकारले कृषि क्षेत्रको दिगो विकाससँगै कृषकहरुको आर्थिक अवस्था सबल बनाउनका लागि विभिन्न बाली जस्तै उखु बालीको खेती गर्न विभिन्न उपकरण तथा बीउबीजनमा समेत अनुदान वितरण गर्दै आएको जिल्ला कृषि विकास कार्यालय कलैया बाराका प्रमुख शिवरतन साहले बताए । 

चिनी उत्पादनका लागि आवश्यक कच्च पदार्थ अन्तर्राष्ट्रिय बजारको तुलनामा महंगोमा उद्योगीहरुले खरिद गर्नुपर्ने बाध्यता रहेको छ । साथै चिनी उत्पादनको लागि आवश्यक केमिकल उपकरणलगायत दक्ष जनशक्तिहरु समेत स्वदेशमा नभई विदेशबाट आयात गर्नु पर्ने भएकोले अन्तराष्ट्रिय बजारको तुलनामा यहाँ उत्पादित चिनीको मूल्य स्वतः बढने रिलायन्स चिनी मिलका प्रबन्धक मनोज पोद्दारले बताए । 

दुई महिनाभन्दा बढी समयदेखि उत्पादन गरिएको रिलायन्स मिलको चिनी बजारमा मूल्य नपाई अहिले सम्म  गौदाममैं थन्किएको अवस्था देखिन्छ । बाराको सदरमुकाम कलैया बजारमा साना ठूला गरी सयौंको संख्यामा पसलहरु रहेका छन् । तर, ती पसलहरुमा स्वदेशी नभई भारतबाट उत्पादित चिनी मात्र विक्री गर्दै आएको देखिन्छ । स्वदेशीभन्दा भारतीय चिनीको मूल्य प्रति किलो ८ देखि १० रुपैयाँ सस्तो भएकोले उपभोक्ताहरु विदेशी चिनी प्रयोग गर्ने गरेको बताएका छन् । 

विदेशी उत्पादनलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनप्रति आम उपभोक्ताहरुलाई प्रोत्साहन गर्न सरकारसँग स्पष्ट नीति भएता पनि त्यसको ठीक विपरीत हुँदै आएको छ । एकातिर नेपाल कृषिप्रधान देश भएता पनि सरकारको गलत रवैयाका कारण लाखौं किसानहरुले वर्षेनी अबौं रुपैयाँ घाटा व्यहोर्दै आएका छन् भने चिनीजस्तो मुल खाद्य वस्तु उत्पादन गर्ने दर्जनौं स्वदेशी उद्योगहरु अन्तराष्ट्रिय बजार मूल्यको तुलनामा सस्तो मूल्यमा विक्री गर्न नसकी दिनप्रतिदिन उद्योग नैं धराशायी बन्दै गएको देखिन्छ । भने अर्को तिर आम नेपाली उपभोक्ताहरुको स्वदेशी उत्पादन नभई विदेशी उत्पादन मैं दैनिक करोडौं रुपैयाँ विदेशिने गरेको देखिन्छ । 

यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा नपरेको पनि होइन । तर, यसप्रति सरकारको उदासिनताको कारण पैसा विदेशिने क्रम जस्ताको त्यस्तै रहेको छ । सरकारको गलत नितिको कारणले कृषकहरुले दिनरात मिहिनेत गरि आफ्नैं खेतबाट उत्पादन गरेको उखुको चिनी उपभोग गर्नबाट वञ्चित भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै