• २०८१ बैशाख ७ शुक्रबार

४–२ ले मोरंगलाई हराउँदै रुस्लान थ्री–स्टार फाईनलमा 

kharibot

बारा । मोरङ फुटबल क्लब विराटनगरमाथी ४–२ को जित निकाल्दै रुस्लान थ्रिस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाईनल प्रवेश गरेको छ । 
थ्रिस्टारको जितमा सुनील बलले २ तथा विष्णु गुरुङ र अनन्त तामाङले समान १ गोल गरे ।

मोरङका कर्ण लिम्बुले खेलको अन्तिम समयमा २ गोल गरेपनि टिमको हार टार्न सकेनन् । खेलको पहिलो हाफमा २–० ले पछि परेको मोरङ फुटबल क्लबमाथि थ्रिस्टारले दोश्रो हाफमा दुई गोल थप्यो । खेलको ८० औं मिनट सम्म मोरङलाई ४–० गोल अन्तरले दवावमा राखेको थ्रिस्टारका गोलरक्षक परिवर्तन भएलगतै मोरङले ८१ र ८४ औं मिनटमा लगातार २ गोल फर्कायो । 

खेलको उतराद्र्धमा ४–० को नतिजा पाएको थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले फाइनल प्रवेश सुनिस्चित भएपछि पहिलो रोजाईका गोलरक्षक एलन न्यौपानेको ठाउँमा अभिषेक बराललाई मैदान पठाएका थिए । 

सिजनका दुई ठुला प्रतियोगिता जितेको थ्रिस्टारलाई पहिलो पटक सिमरा गोल्डकपको उपाधि होडमा उभ्याउने क्रममा खेलको २३ औं मिनटमा विष्णु गुरुङले गोल गरेका थिए । सुनिल बलको क्रसलाई सदुपयोग गर्दै विष्णुले टिमलाई अग्रता दिलाए ।

खेलको ३५ औं मिनटमा सुनील बलले थ्रिस्टारको अग्रता दोव्वर पारे । डि वक्स वाहिरबाटै सुनील प्रहार गोलमा परिणत भएको थियो । पहिलो हाफमा मोरङ विरुद्ध हावि भएको थ्रिस्टारका सुनील बलले दोश्रो हाफको शुरुवातमै अग्रता फराकिलो बनाए । खेलको ४९ औं मिनटमा डि वक्स भित्र पाएको निराजन खड्काको पासलाई सदुपयोग गर्दै सुनीलले थ्रिस्टारलाई ३–० को अग्रता दिलाए । 
खेलको ७७ औं मिनटमा थ्रिस्टारले अर्को गोल गर्दै मोरङ विरुद्ध ४ गोलको अग्रता लिन सफल भयो । निराजन खड्काको कर्नर बलमा उत्कृष्ट हेडिङ गर्दै अनन्त तामाङले थ्रिस्टारको जित सुनिश्चित गरे ।

चार गोलको अग्रता पछि गोलरक्षक परिवर्तन गरेको थ्रिस्टार खेलको ८० औं मिनटपछि दवावमा प¥यो । गोलरक्षक एलन न्यौपानेको ठाउँमा आएका अभिषेक बराल मैदान प्रवेश गरेको पहिलो मिनटमै थ्रिस्टारको अग्रता ४–१ मा झर्यो ।

मोरङका कर्ण लिम्बुले खेलको ८१ औं मिनटमा पहिलो गोल गरे । डि बक्स भित्र पाएको बललाई सिधै पोष्टको दिशा दिएका लिम्बुको प्रहार थ्रिस्टारका गोल रक्षक अभिषेक बरालले सम्हाल्न सकेनन् ।

त्यस लगतै आक्रामक रुपमा प्रस्तुत भएको मोरङले अर्को गोल थप्दै थ्रिस्टारको अग्रता ४–२ मा झा¥यो । कर्ण लिम्बुले खेलको ८४ औं मिनटमा दोश्रो गोल गरे । 
थ्रिस्टारको जीतमा दुई गोल गरेका सुनिल बल म्यान अफ दि म्याच घोषित भए । विहिबार त्रिभूवन आर्मी र वीरगञ्ज यूनाईटेड क्लब विच अन्तिम सेमी फाईनल खेल हुँनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै