• २०८१ बैशाख ८ शनिबार

वर्षाले किसानलाई राहत, उच्च क्षेत्रमा हिमपात

kharibot

फाइल तस्बिर

तेह्रथुम । आज अपराह्न परेको वर्षाले जिल्लाका किसानलाई राहत मिलेको छ । पाँच महिनादेखि वर्षा नहुँदा हिउँदे बाली लगाउन नपाएका किसान हर्षित बनेका छन् । लामो समयसम्म वर्षा नहुँदा किसानको खेतीयोग्य जमिन बाँझै रहेको थियो । 

वर्षाले किसानलाई ढिलै भए पनि हिउँदे बाली लगाउन सहज बनाएको छातेढुंगाका किसान सोमनाथ आचार्यले बताए । ‘पानी नपरेर बारी बाँझै थियो, अब बाँझो फोडेर मकै छर्न बाटो खुलेको छ,’ उनले भने । बुधबारको वर्षाले सबै क्षेत्रको जमिन राम्रोसँग नभिजे पनि अब निरन्तर वर्षा हुने आशा किसानले राखेका छन् । जिल्लामा गत असोजयता वर्षा भएको थिएन । 

असोजयता जिल्लामा वर्षा नहुँदा जिल्लाको ३० हजार हेक्टरभन्दा बढी क्षेत्रफलको खेतीयोग्य जमिन बाँझै भएको थियो । जिल्लाको ३७ हजार २८२ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।

त्यतिका जमिनमध्ये अहिले पनि बाह्रैमास सिँचाइ हुने जमिन करिब छ हजार हेक्टर मात्रै छ । बाँकी रहेको बाँझो जमिनमा खेती लगाउन हिउँदे वर्षाले सहयोग पुर्याउने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । 

वर्षाले जिल्लामा गहुँ, आलु, तोरी, हरियो तरकारी, फापर, जौ, जै घाँस, मकै घाँस, मकै लगायतको कृषि बाली लगाउन सहज बनाएको किसानले बताएका छन् । वर्षा भएपछि किसानलाई बाली लगाउन बाटो खुलेको हमरजुङका किसान बमप्रकाश लिम्बूले बताए । बुधबार वर्षासँगै केही क्षेत्रमा असिनासमेत परेको छ । असिनाले केही फलफूल बालीमा क्षति पुर्याए पनि हिउँदे बाली लगाउनका लागि भने सहज बनाएको किसान लिम्बूले बताए । 

वर्षासँगै उच्च क्षेत्रमा हिमपात 

वर्षासँगै जिल्लाको उच्च क्षेत्रमा भारी हिमपात भएको छ । उच्च क्षेत्रमा वर्षकै सर्वाधिक हिमपात भएको हो । तीनजुरे मिल्के जलजले क्षेत्रको तीनजृुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडामा हिउँ परेर सेताम्मे भएको छ ।

गुफाबजारमा बुधबार दिउँसोबाट निरन्तर हिमपात भइरहेको स्थानीयवासी मञ्जु खनालले जानकारी दिए । ‘करिब दुई फिट हिउँ परेको छ,’ उनले भने, ‘वर्षासँगै हिउँ परेकाले यो वर्षकै उच्च हिमपात हो ।’ हिउँ परेपछि वसन्तपुर र आसपासका डाँडामा गाउँले हिउँ खेल्न पुगेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै