सामाजिक परिचालकहरुलाई कतिञ्जेल सडकमा लघार्ने ? 

खरीबोट

त्रिवेणी गाउँपालिका –४ रोल्पा

विचार । सधैँ विकास परिवर्तन सुशासन र अधिकारका कुरा सिकाउने सामाजिक परिचालकहरु आफ्नै अधिकारका लागि सडकमा उत्रेको पनि एक महिना भइसक्यो तर यो सरकार मूकदर्शक भएर बसेको छ । यो काठमाडौंको असहज बसाइ त्यहीमाथि यो चिसो मौसममा सडकको बास ।

पीडा त कति छ कति तैपनि खुशी लाग्दो रहेछ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साथीहरूसँगको भेटघाटमा आफ्ना पीडाहरु बाँड्न पाउँदा त्यत्तिकै गर्व पनि लाग्दै छ । नेपालमा पनि स्थानीय तहमा काम गर्ने सामाजिक परिचालकहरु रहेछन्, उनीहरु अन्यायपूर्ण रुपमा बर्खास्त गरिएछन् र आफ्नो अधिकारका लागि लड्दै छन् भन्ने कुरा राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगतलाई बोध गराउन पाउँदा साच्चै खुशी लागेको छ ।

यो सकसको महिना दिन लामो विगतलाई फर्केर हेर्दा कैयौं साथीहरूको दुःख, पीडा र अभावसँग नजिक हुने अवसर पाइयो । तीमध्ये कोही डाँडामाथिको घामजस्तै बूढा बाबाआमालाई अस्पतालको बेडमा छोडेर आएका छन् त कोही आफ्ना दूधे बालकलाई काखी च्यापेर यो चिसो सडकमा बस्न विवश भएका छन् । त्यसमाथि शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन हँुदा झन् पीडामाथि पीडा थपिएकोछ तर के गर्ने ? आन्दोलन हाम्रो रहर होइन, बाध्यता भएर आएको छ । अब त यस्तो लाग्दै छ, यो देशमा सरकार छ कि छैन ? छ भने सामान्य मानवअधिकार र मौलिक हकको किन यसरी खिल्ली उडाइँदै छ यहाँ ।

अचम्मै लाग्दै छ, हामी आफ्नो गुमेको पहिचान खोज्दै छौं तर यो सरकार हामीसँग निहुँ खोज्दै छ । हामीले ठूलो कुरा केही मागेका छैनौं यो सरकारसँग । केवल ८ वर्षको मिहिनेत माटोमा नमिलाइदेऊ र पुस १४ को कालो निर्णयले हाम्रो पहिचान गुम्यो, आत्मसम्मान गुम्यो, त्यसलाई फिर्ता गरिदेऊ भनेका हौँ तर यो सरकारले हाम्रो आलो घाउमा नुनचूक छर्किन खोजिरहेको छ । कता कता सुनिन्छ, हामी एनजीओका कर्मचारी हौँ रे तर एनजीओले त खालि समन्वयको पाटो मात्रै सम्हालेका थिए ।

हामीलाई स्थानीय तहमा ८ वर्ष काम लगाउने, तलब खुवाउने त यही सरकार हो नि ! बरु हिजो संक्रमणकालमा जहाँ राज्यको कुनै उपस्थिति थिएन, कर्मचारी जनप्रतिनिधि नभएको अवस्थामा मरिमेटी काम लगाएर त्यसको गुण वा मूल्य तिर्न नकेर राज्यले हामी माथि लगाएको लान्छना हो भन्छु म । यो एनजीओको कर्मचारी भन्ने कुरा अर्कोतिर सुनिन्छ । हामीलाई तलब खुवाउने स्रोत छैन रे ! हामी भन्छौं हामीलाई सिर्फ काममा फर्काइदेऊ हामीले खाने तलबको व्यवस्था हामी आफैँ गर्छाैं ।

कर्मचारी अभावमा दैनिक रुपमा निकासी हुने स्थानीय स्रोतको कर उठ्नसकेको छैन । जनताले राज्यको न्यूनतम सेवा सुविधा उपभोग गरेबापतको कर तिर्नसकेका छैनन् । तिनीहरुलाई हामी करको दायरामा लिन्छौँ । म ठोकुवासाथ भन्छु, हामीले हाम्रो तलबको व्यवस्था आफैँ गर्छाैं । साथसाथै यो देशलाई आर्थिक क्रान्तिको दिशामा अघि बढाउँछौं तर हामीलाई काममा फर्काइदेऊ ।

जनप्रतिनिधिको आगमन हुनु भनेको हाम्रो भूमिका समाप्त हुनु होइन र उहाँहरुसँगको दूरी बढ्नु पनि होइन । उहाँहरु एउटा फरक पृष्ठभूमिबाट त्यो ठाउँमा पुग्नुभएको छ, जसले गर्दा काम गर्न असहज भएको छ । त्यसैको फलस्वरूप सामाजिक परिचालकको अभावमा लाखौं सेवाग्राहीले सास्ती भोगिरहेका छन् ।

हामी ती जनप्रतिनिधिहरुको विज्ञता र हाम्रो यो लामो कार्य अनुभवको समायोजन गरी हातमा हात, काँधमा काँध मिलाएर ती विपन्न र वञ्चित वर्गको सेवा गर्न चाहन्छौं तर हामीलाई काममा फर्काइदेऊ । भएको रोजगारी खोसेर बेरोजगारी भत्ता नबाँड, दक्ष जनशक्तिलाई विदेश लखेटेर देशविकासको खोक्रो कल्पना नगर, खाँदाखाँदैको कसैको गाँस खोसेर अघाएकालाई नघिचाऊ ।

निश्चय नै हामीले यो एक महिना ‘प्रसवपीडा’मा गुजार्याैं तर अझै केही बिग्रेको छैन, हामीलाई ससम्मान आफ्नो कार्यक्षेत्रमा फर्काईदेऊ । होइन, अझै हामीसँग निहुँ नै खोज्ने हो भने र यही ताल हो, यही चाल हो भने अब यो बेरोजगारी नैराश्यतासँगै भित्रभित्रै सल्किँदै गरेको क्रोधको आगोले पुग्न जाने क्षति राज्यको लागि अपूरणीय हुनेछ । तसर्थ यसमा राज्यले समयमै ध्यान देओस् !

सम्बन्धित समाचार

किन बढ्दै छ छोरीमाथि क्रुरता ?

काठमाडौँ। पछिल्लो आर्थिक वर्ष २०७४÷७५ प्रहरी तथ्याङक अनुसार मात्र १२ सय ४४ जना महिला बलात्कारको शिकार बनेका छन् । अघिल्लो वर्षको तुलनामा यो आवमा १ सय १३ जनाले बढि हो

निराश नेपाली यूवा !

काठमाडौँ। अंग्रेजी विषयवाट स्नातकोत्तर पढ्दै गरेको मेरो मिल्ने साथी दुवइको डिपीएस सेक्युरिटी गार्डको सपना वुन्दै काठमाडौ आएको छ उ नेपालमा विकल्प देखेको छैन र राजनैतिक गतिविधि प्रति त्यति रुचीपनि राख्दैन (तथापी

यसकारण निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गरौँ !

काठमाडौँ।  प्रजातन्त्रको सौन्दर्यको रुपमा उदारीकरण मार्फत नीजिकरणलाई यति महत्व दिईयो कि,यस्ले न स्वास्थ्य क्षेत्र भन्यो न शिक्षा क्षेत्र । हरेक कुराको निर्धारण माग र आपुर्तिको सन्तुलनबाट हुन्छ भन्ने अर्थशास्त्रको नियम

‘ॐ’ को अर्थ र आध्यात्मिक महत्व

अन्य शब्दहरुको अर्थ भएको जस्तै ‘ॐ’को कुनै अर्थ छैन । त्यसैले ‘ॐ’शब्द होइन् । हरेक ध्वनीहरु आहादनाद हुन् । अर्थात हरेक ध्वनीहरु कुनै दुई चिजको टक्रावटबाट निस्कन्छ । तर ‘ॐ’अनाहदनाद