• २०८१ बैशाख ८ शनिबार

पेट्रोलियम पाइपलाइन निर्माण तीव्र, ३० महिनामा सक्ने निगमको लक्ष्य

kharibot

बारा । इन्धन आपूर्तिको दृष्टिले महत्वपूर्ण मानिएको पेट्रोलियम पाइपलाइन योजनाअन्तर्गत सीमावर्ती भारतीय सहर रक्सोलदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्मको निर्माणकार्यले तीव्रता पाएको छ । 

भारतीय सहर रक्सौलदेखि बाराको अमलेखगञ्जसम्मको ३६.२०६ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्य निगमले सुरु गर्नलागेको हो । भारतीय पक्षले कार्यान्वयनमा तत्परता देखाएकाले पनि निर्माणकार्य छिटै सम्पन्न हुने देखिन्छ ।

वीरगञ्जको शंकराचार्य गेटबाट वीरगञ्जकै गण्डक नहरसम्म बाइपास सडकको दायाँ भागबाट र त्यसपश्चात् त्रिभुवन राजपथको गण्डक अमलेखगञ्जखण्डमा सडकको बायाँ भागबाट पाइप लाइन निर्माण गर्न लागिएको हो । 

सडकको २५ मिटरभित्र पर्ने गरी पाइपलाइन निर्माण गर्न लागिएकाले मुआब्जालगायतका अन्य अवरोध नहुने भएकाले पनि निगमले सडकको क्षेत्रभित्रबाट पाइपलाइन निर्माण गर्नलागेको जनाएको छ । साढे तीन सय करोड भारतीय रुपैयाँमा निर्माण हुनलागेको उक्त पाइपलाइनमा भारतीय पक्षले दुई सय करोड भारतीय रुपैयाँ र नेपाली पक्षले ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने सहमति भएको छ । 

पाइपलाइन निर्माणका लागि आवश्यक कामहरु सम्पन्न भइसकेको छ भने भारतीय आयल निगमले पाइपहरु निर्माण गरेर नेपाल पठाइसकेकोले अब केही दिनभित्र मेसिनरी सामग्रीहरु आउनेबित्तिकै पाइप बिछ्याउने कार्य सुरु हुने नेपाल आयल निगम रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट सिमरा बाराका मेकानिकल इन्जिनियर शरद पौडेलले बताए । 

भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्लाको मोतिहारी बजार क्षेत्रको ११ कि.मि. उत्तरतर्फ सेमरा भन्ने स्थानमा टर्मिनल या ट्याप या पोइन्ट निर्माण गरी उक्त स्थानबाट नेपालको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ ।

पाइपलाइन बिछ्याउने कार्यको लागि सबै किसिमका सर्भे, स्वाइल टेष्टिङ, रेखांकन पिलरहरु समेत स्थापना गरिएको छ । हाल नेपाल भित्रिएको पाइप १०.७५ इन्च गोलाइ र ०.२१९ इन्च मोटाइको रहेको र यो पाइप भारतीय कम्पनी जिन्दलले माटो परीक्षण गरी निर्माण गरिएकाले पाइपको गुणस्तर राम्रो रहेको विज्ञ पौडेलले बताए । 

कहाँबाट कसरी जोडिन्छ पाइपलाइन ?
भारत विहार राज्यको बरौनी रिफाइनरीबाट पटना–मुगलसराय हुँदै कानपुरसम्म पेट्रोलियम पदार्थ ढुवानी हुने पाइपलाइन जुन पहिलेदेखि नै सञ्चालित थियो । पटना–मुगलसराय सेक्टर बीचमा पर्ने विहारकै सिवान भन्ने ठाउँमा ट्याप अफ पोइन्ट निर्माण गरी त्यहाँबाट एउटा लाइन भारत उत्तर प्रदेशको बैतालपुरसम्म र अर्को लाइन सिवानबाट मोतिहारी हुँदै

अमलेखगञ्जसम्म जोड्ने योजना इण्डियन आयल कर्पोरेसनको रहेको छ । मोतिहारीदेखि रक्सौल बोर्डरसम्म ३३.७ किलोमिटर र रक्सौल बोर्डरदेखि अमलेखगञ्जसम्म ३६.२ किलो मिटर दूरी रहनेछ । 

समुद्री सतहबाट ८४ मिटर उचाइमा रहेको रक्सौल र २७७ मिटर उचाइमा रहेको अमलेखगञ्जबीचको दूरीलाई प्राविधिक ढंगबाट पाइपलाइन निर्माण हुने भएकाले कुनै समस्या नहुने निगमको ठम्याइ रहेको छ ।

सडकको क्षेत्राधिकारभित्र निर्माण गर्न लागिएको पाइपलाइन २.५ मिटर गहिराइबाट ल्याउन लागिएको छ भने खोला तथा अन्य गहिरो भागहरुमा आवश्यकताअनुसार १५ मिटरसम्म गहिरो बनाउनुपर्ने देखिएको छ । 

सम्झौता भएको झण्डै दुई वर्षपछि ज्येष्ठ २४ र २५ गते दिल्लीमा भएको नेपाल र भारतका उच्च अधिकारीहरुको बैठकमार्फत यो पाइपलाइन निर्माणका लागि औपचारिक प्रक्रिया थालिएको थियो । 

भारतीय पक्षले द्रुतगतिमा काम अघि बढाउने तत्परता देखाएको छ । उतातिर समन्वयको पाटो र यता गर्नुपर्ने काम दुवै पक्षले अघि बढाएको निगमले जनाएको छ । पाइपलाइनमार्फत पेट्रोलियम आयात गर्दा आपूर्ति सहज हुनाका साथै ढुवानीलागत र अरु नोक्सानी रोकिएर वार्षिक रुपमा ५५ देखि ६० करोड रुपैयाँ जोगिने निगमको अनुमान छ ।

अहिले नेपाललाई चाहिने इन्धनको ७० प्रतिशत रक्सोल नाकाबाट वीरगञ्ज हँुदै ट्यांकरमा भित्र्याइन्छ । यसमा ढुवानी लागत बढी पर्ने र चुहावटले गर्दा नोक्सानी हुने गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै