• २०८१ बैशाख ६ बिहीबार

प्रदेश ५ को सभामुखमा घर्तीको उम्मेदवारी

kharibot

बुटवल / प्रदेश नं ५ का सभामुखका लागि नेकपा(माओवादी केन्द्र)का पूर्णबहादुर घर्तीले आज उम्मेदवारी दर्ता गरेका छन् । 

प्रदेशसभा संसद् सचिवालयमा आज बिहान १०ः३० बजे नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) अर्थात् वाम गठबन्धनका संयुक्त उम्मेदवार घर्तीले माओवादी केन्द्र प्रदेश नं ५ का प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमीश्वर ढकालको समर्थनमा उम्मेदवारी गरेका हुन्  ।

रुकुम पूर्वबाट निर्वाचित घर्तीलाई प्रदेश नं ५ को सभामुखको उम्मेदवार बनाउने निर्णय माओवादी केन्द्र संसदीय दलको बैठकले दुई दिन अगाडि मात्र गरेको थियो । 

संसद्मा वाम गठबन्धनको बहुमत छ । अठहत्तर सांसदमध्ये गठबन्धनसँग ६१ सांसद छन् । संसद्को तेस्रो शक्ति काँग्रेस र अरु दलले सभामुखमा उम्मेदवारी दिने तयारी गरेका छैनन् । वाम गठबन्धनबाट उम्मेदवारी दिएका घर्ती सभामुखमा एकल उम्मेदवार हुने र सर्वसम्मत निर्वाचित हुने अवस्था देखिएको छ । 

काँग्रेस सांसद वीरबहादुर रानाले काँग्रेसले सभामुखमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको बताए । काँग्रेसले अहिलेसम्म संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन । उहाँले वाम गठबन्धनको स्पष्ट बहुमत रहेको र आफूहरुले सरकार बनाउने सम्भावना नरहेकाले दलको नेता र सभामुखको उम्मेदवारीमा कुनै निर्णय नभएको बताए । 

उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै नेता घर्तीले प्रदेशसभालाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले सञ्चालन गरिने प्रतिक्रिया दिए । उनले प्रदेश नं ५ लाई समृद्ध बनाउन सबै दललाई एकैसाथ लिएर अघि बढ्ने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै