• २०८१ बैशाख ६ बिहीबार

केन्याविरुद्ध नेपालको ३ विकेटको जित, सन्दिप एक्लैले लिए पाँच विकेट 

kharibot

काठमाडौं । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत सोमबार सम्पन्न खेलमा केन्याविरुद्ध नेपालले ३ विकेटको जित निकाल्न सफल भएको छ । बलर सन्दिप लामिछाने चम्किएको खेलमा टस जितेर फिल्डिंग रोजेको नेपालले १७८ रनको लक्ष्य पाएको थियो । 

केन्याले पूरै ५० ओभर खेल्दै १ सय ७७ रन बनाएको थियो । केन्याका लागि इरफान करिमले ४२, एलेक्स ओबान्डाले ४१, धिरेन गोन्डारियाले २७ र नेल्सन ओडियाम्बोले नटआउट २४ रन जोडे । अन्य बलरहरु जम्न नसके पनि युवा बलर सन्दिप लामिछाने एक्लैले केन्याको पाँच विकेट झारेका थिए ।

तर आजको खेलमा प्रवेश पाएका अनिल कुमार शाह ओपनरका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्लसँगै ब्याटिंगमा आए पनि पहिलो बलमै आउट भएपछि नेपाल दबाबमा परेको थियो ।

त्यसपछि अर्का ओपनर ज्ञानेन्द्र मल्ल समेत १४ रन बनाउँदै क्याचआउट भएका थिए । नजिकै दुई विकेट गुमाए पनि कप्तान पारस खड्काले सम्हालिएर ब्याटिंग गर्दै ४४ बलमा ४२ रन बनाउन सफल भएका थिए ।

अर्का ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी समेत ११ बल खेली १ रनमै बल्ड भएका थिए भने भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर ५७ बलमा १९ रन बनाएर एलबीडब्ल्यु धरापमा परे पनि आरिफ शेख र आरके पौडेलले महत्वपूर्ण पारी खेल्दै नेपाललाई जित दिलाए ।  ]

आरिफले ८२ बलमा ४२ रन बनाएर क्याचआउट भए भने पौडेलले   ८५ बलमा ४७ रन बटुल्न सफल रहे । सोमपाल कामीले पाँच बलमा पाँच रन लिए ।  । 

केन्याका ईबी रिंगेराले तीन विकेट लिएका थिए भने एनएन ओधिआम्बो, एनएम ओधिआम्बो र सो गोचेले नेपालको समान एक, एक विकेट झारे पनि टिमलाई जिताउन असफल रहे । केन्याको यो लगातार तेस्रो हार हो भने जारी प्रतियोगितामा नेपालको यो तेस्रो जित हो ।

 यसअघि नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई जिते पनि दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो । तर तेस्रो खेलमा यूएईमाथि विजय हात पार्दै लयमा फर्किएको नेपालले चौँथो खेलमा पनि केन्यामाथि विजय पाएको हो । 

आजको जितसँगै ६ अंकसाथ नेपाल दोस्रो स्थानमा उक्लिएको छ । आज नै भएको खेलमा नामिबियाले क्यानडालाई १७ रनले हरायो । नेपाल र क्यानडाको समान ६/६ अंक रहँदा तेस्रो स्थानमा रहेको यूएईको ४ अंक मात्रै रहेको छ । यद्यपि यूएईको रनरेट भने नेपालको भन्दा बढी रहेको छ । 

हारे पनि नेट रनरेट बढी भएका कारण क्यानडा शीर्ष स्थानमा रहन सफल भएको छ । उसको १.११६ नेट रनरेट छ भने नेपालको माइनस ०.१५८ नेट रनरेट रहेको छ । त्यस्तै आज नै भएको खेलमा यूएईले पनि विजय पाएको छ । उसले ओमानलाई ४६ रनले हराएको हो । विश्वकप छनोटमा पुग्न नेपालले कम्तीमा दोस्रो स्थान गुमाउनुहुँदैन । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै