• २०८१ बैशाख ६ बिहीबार

सबैको साझा अठोट र प्रतिबद्धताबाट मुलुकमा भ्रष्टाचार निर्मूल गर्न सकिने–राष्ट्रपति भण्डारी

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैको साझा अठोट र प्रतिबद्धताबाट मुलुकमा भ्रष्टाचार निर्मूल गरी सुशासन र विधिको शासन कायम गर्न सकिने विश्वास व्यक्त गरेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमुक्त सम्मुनत एवं सुसंस्कृति समाज स्थापनाका लागि सबै क्षेत्रबाट तत्परताका र सक्रियता जरुरी रहेको बताए । 

राष्ट्रपति भण्डारीले भने, ‘देशले अंगीकार गरेको नयाँ राजनीतिक पद्धति र संरचनामा सदाचार, सुशासन र सार्वजनिक उत्तरदायित्वको भावनालाई अझ बढी सुदृढ र प्रभावकारी बनाउन आयोगको भूमिका अझ सशक्त हुनुपर्छ भन्ने मैलै विश्वास लिएको छु ।’ 

उनले संघ, प्रदेश र स्थानीय तहमा असल अभ्यासको सुदृढीकरण गरी लोकतन्त्रको प्रतिफल जनसमक्ष पुर्याउन र प्रभावकारीरुपमा भ्रष्टाचारको नियन्त्रण गर्न आयोगको भूमिका अझ सशक्त बन्नुपर्नेमा जोड दिए । 

राष्ट्रपति भण्डारीले आयोगलाई संवैधानिकरुपमा भ्रष्टाचार नियन्त्रणको दायित्व सुम्पिएको भए पनि यस कार्यमा सबै सरोकारवाला पक्षको सक्रिय सहकार्य र सहयोगको आवश्यकता औँल्याए । 

आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले भ्रष्टाचार नियन्त्रण, विधिको शासन कायम गर्ने विषय कठिन भए पनि असम्भव भने नरहेको बताए । 

संविधानले अनुचित कार्यलाई आयोगको कार्यक्षेत्रभित्र नराखेकाले केही जटिलता आएको बताउँदै उनले विज्ञान प्रविधिले भ्रष्टाचारको स्वरुपमा पनि परिवर्तन गरेकाले आयोगको कार्यक्षमता बढाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने वक्ततृत्वकला र कविता प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्नेलाई राष्ट्रपति भण्डारीले पुरस्कार हस्तान्तरण गरीन् । 

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश गोपाल पराजुली, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलगायतका विशिष्ट व्यक्तिको उपस्थित थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै